Kirtipur, Kathmandu
त्रि.वि. शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) ले ४९औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड)ले अनुसन्धानको क्षेत्रमा गरेका महत्वपूर्ण योगदानहरूको चर्चा गर्दै सेरिडका कार्यकारी निर्देशक डा. राजेन्द्र कुँवरको अध्यक्षतामा आफ्नो ४९औं बार्षिक दिवस मनाइएको छ । बल्खु स्थित सेरिडको कार्यालयमा आयोजित बार्षिकोत्सव समारोहको उदघाटन गर्नुहुँदै त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले त्रिविका चारवटै अनुसन्धान केन्द्रहरूले अब्बल अनुसन्धान प्रस्तुती देखाउनुपर्नेमा जोड दिनु भएको छ । बार्षिकोत्सव समारोहमा सेरिडमा कार्यरत उपप्राध्यापक डा.देवराज आचार्यले सेरिडले गरेका विभिन्न अनुसन्धानात्मक गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।
सेरिडका कार्यकारी निर्देशक डा.राजेन्द्र कुँबरले सवै अनुभवी विद्बान प्राध्यापकहरुको अभिभावकत्व, निर्देशन र मार्गदर्शनका कारण सेरिडले आफूलाई थप व्यवस्थित र क्रियाशिल बनाइरहेको धारणा व्यक्त गर्दै हाल ६ वटा विभिन्न अनुसन्धान परीयोजना संचालन भइरहेको र त्रिभुवन विश्वविद्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट समेत अनुसन्धान कार्यमा प्रोत्साहन भइरहेको बताउनुभएको थियो ।
कार्यक्रममा अनुसन्धान निर्देशनालयका निर्देशक प्रा.डा. ईश्वर कोइराला, नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्रबहादुर कार्की, आर्थिक प्रशासन तथा अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा. अर्जुनकुमार बराल, व्यवहारिक विज्ञान तथा अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्रा.डा. मीना राजभण्डारी, शिक्षा विकास तथा अनुसन्धान केन्द्रमा कार्य गर्नुभएका पूर्वप्राध्यापक रुक्मिणी बज्राचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । बार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्यगर्ने उपप्राध्यापक इन्द्रेश ठाकुर तथा कर्मचारीहरू उरेश नेपाली, धनमाया श्रेष्ठ र समिता महर्जन सम्मानित हुनुभएको थियो ।